रक्सी सेवनका कारण घट्दैछ औसत आयु

उठ्ने बित्तिकै रक्सी खाने, दिउँसो पनि रक्सी खाने र बेलुका फेरि रक्सी खाएर सुत्ने उनीहरूको दिनचर्या नै हो । मानिसले काम गरेर थकाइ मार्न कहिलेकाहीँ पिउँछन् । सधैँ पिउनेले थोरै मात्रै रक्सी पिएर सुत्छन् तर, मनहर्वा बस्तीमा सबैजसो पुरुष रक्सी खानकै लागि जन्मेका जस्ता देखिन्छन् ।


यहाँका पुरुष एकाबिहानै रक्सी सेवन गरेर एक आपसमा गालीगलौज, झै–झगडा र कुटपिट नगरेको कुनै दिन नै हुँदैन भन्दा हुन्छ । काम गर्न नमान्नु, तास, जुवा, रक्सीमा मात्नु र पतिलाई पिट्नु पनि यहाँका पुरुषहरूको दिनचर्या नै हो । शिक्षाको उज्यालो घामले नछोएको यस बस्तीका व्यक्तिहरू छोराछोरी पढाउने चाहना नै राख्दैनन् । आफ्ना छोराछोरीलाई विद्यालयबाट टाढै राख्न चाहन्छन् । बालबालिकालाई पढाउनुको साटो उनीहरूका लागि गाई, बाख्रा, सुँगुर, बँगुर किनिदिने र त्यसको हेरचाहमा लगाएर दुई÷चार पैसा आर्जन गर्न लगाउने कामलाई उनीहरू प्राथमिकता दिन्छन् । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित मनहर्वा मुसहर बस्तीको पुरुषहको औसत आयु ४० वर्ष मात्रै रहेको छ ।


०६८ सालको जनगणनाअनुसार नेपालीको औसत आयु ६९ वर्ष रहे पनि यस बस्तीका मुसहर पुरुषहरूको औसत आयु ४० वर्ष मात्रै रहेको छ । १ सय २५ घरधुरी रहेको यस बस्तीका पुरुषहरू अत्यधिक रक्सी खाने गरेका कारण ४० वर्षभन्दा बढी नबाँचेको उनीहरूको भनाइ छ । यहाँका मुसहरहरू बिहान उठ्ने बित्तिकै रक्सी खाने, दिनभरि काम गर्ने, काम गर्दागर्दै दिउँसै रक्सी खाने र फेरि बेलुका कमाएर ल्याएको पैसाबाट रक्सी खाएर सुत्ने गरेका कारण उनीहरू अल्पायुमै मर्ने गरेको स्थानीय मुसहर महिला निर्मला सदाले बताइन् ।
२२ वर्षकै उमेरमा विधवा भएकी मुसहर महिला इन्दु सदाले तीन वर्ष पहिले मात्रै पति दुखा सदालाई गुमाइन् । आफ्नो पतिको ३२÷३३ वर्षको उमेरमा अत्यधिक रक्सी सेवन गरेकै कारण मृत्यु भएको उनी बताउँछिन् । अल्पायुमै आफन्तको मृत्युवरण देखेकी तुलसी सदाले पनि रक्सी सेवनबाट सुरु हुने यहाँका पुरुषहरूको दैनिकीले नै उनीहरूको आयु खुम्च्याइदिएको बताइन् ।
स्थानीय महिला मरनी सदाका अनुसार आ–आफ्ना पुरुषका बारेमा कुन दिन अप्रिय समाचार सुन्नु पर्ने हो भन्ने भय पालेर यहाँका महिलाले दिन गुजार्न परिहरेको छ । यस गरीब बस्तीमा कुनै पनि मुसहरको घरमाथि टिनको छानो छैन । सबैको घर खर, बाँस, झारपातबाट बनेको छन् र सबैको छानो चुहिने अवस्थाका छन् । ईंटा, ढुंगा र सिमेन्टले बनेको पक्की घर त हेर्नकै लागि भए पनि कसैको त्यस बस्तीमा छँदै छैन ।

खाएका पतिबाट प्रताडित यस बस्तीका महिलाहरूले आफूहरूको बस्तीमा रक्सीमाथि प्रतिबन्ध लगाइदिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूसँग पटकपटक गुहारिसकेको भए पनि त्यसको सुनुवाइ भएको छैन । गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले यस बस्तीका मुसहरको बानीबेहोरामा परिवर्तन ल्याउन नगरपालिकाले थुप्रै कामहरू गरेको बताउँछन् ।
बालबालिकाहरूको पठनपाठन नियमित होस् भन्ने उद्देश्यले पनि यस वस्तीमा रहेका विद्यालयलाई विभिन्न सेवा सुविधाहरू दिइएको उनी बताउँछन् । आफू अनपढ भएकाले आफ्ना सन्तानलाई पनि सधैँ अनपढ नै राख्ने सोच यहाँको अभिभावकले पालेको देखिन्छ । करिब दुई वर्ष पहिले मनहर्वा बस्तीमा हास्य कालाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) आएर बस्तीका सबै बालबालिकाहरूलाई विद्यालय पठाउन आग्रह गर्दै शैक्षिक सामग्री बाँडेका थिए ।

सबै महिला, पुरुषहरूलाई रक्सी सेवन, झै–झगडा, गालीगलौज र कुटपिटजस्ता घटनाहरू नघटाउन पनि उनीहरूले सल्लाह दिएका थिए । त्यो बेला घरघरबाट मेला भर्न आएजस्तै उर्लेर आएका मुसहरहरूले सोही दिनदेखि आफूहरू राम्रो बाटोमा हिँड्ने प्रण गरेका थिए तर, ‘कुकुरको पुच्छर सधैँ बांगो’ भनैजस्तै एकाध परिवार र व्यक्तिबाहेक मनहर्वाका सबै मुसहरको स्वभावमा खासै परिवर्तन आएन । साभार

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares