परिवर्तनकाे साक्षी बनेकी कुमारी

गोरखाका राजा पृथ्वीनारायण शाहले इन्द्रजात्राकै दिनमा काठमाडौंमा आक्रमण गरेर जितेका थिए।काठमाडौंका राजा जयप्रकाश मल्ल इन्द्रजात्रा मनाइरहँदा पृथ्वीनारायणले काठमाडौंमा आक्रमण गरे। त्यतिबेला राजा जयप्रकाश मल्ल कुमारीको रथमा बसेर जात्रा मनाइरहेका थिए। पृथ्वीनारायण शाहसँगको युद्धमा हारेपछि उनी टेकु दोभान हुँदै पाटनमा शरण लिन पुगे।

काठमाडौंमा राज्य चलाएका सबैले कुमारी लाईइष्ट देवीको रुपमा मान्दै आएका छन्। मल्ल राजाहरूले कुमारीकै आर्शिवादले उपत्यकामा शासन चलाउँदै आएका थिए। कुमारीको आशिर्वादबिना राज्य चलाउन सकिँदैन भन्ने मान्यता रहिआएको थियो। आफ्ना इष्टदेवीका रुपमा पूजिँदै आएकी कुमारीबाट इन्द्रजात्रा पछि राजाले टीका थापेर आर्शिवाद लिन्थे।

काठमाडौं जितिसकेपछि पृथ्वीनारायण शाहले पनि कुमारी जात्रालाई यथावत नै राखे। जात्रापछि पृथ्वीनारायण शाहले पनि कुमारीबाट टीका थाप्न गए। स्थानीय कथनअनुसार पृथ्वीनारायण शाहले टीका थाप्दा राष्ट्रका देवीको रुपले मानिँदै आएका कुमारीले उनलाई उनको १२ पुस्तासम्म मात्र राज्य चलाउन पाउने छ भनेका थिए रे। तत्कालीन सो कथन हालसम्म पनि स्थानीय माझ चल्दै आएका छन्। तर इतिहासकारहरूले यसको पुष्टि भने गरेका छैनन्।

कथनै भएपनि यो कथन सत्य भने सावित भएको छ। पृथ्वीनारायणदेखि दीपेन्द्रसम्म गर्दा शाहवंशका जम्मा १२ पुस्ताले मात्रै शासन गर्न पाए। दीपेन्द्रले राजकाज चलाउन नपाए पनि ज्ञानेन्द्रसहित गर्दा १२ जनाले राज्यसत्ता चलाए। शाहवंशको १२ औं पुस्तामा आएपछि नेपालको राज्य व्यवस्थामै परिवर्तन आयो। २०६२-६३ को जनआन्दोलनपछि शाहवंशको अन्त्य भयो। यो परिवर्तनको साक्षी बनेकी कुमारी हुन्– प्रीति शाक्य।

शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रलाई राष्ट्र प्रमुखको हैसियतले अन्तिम पटक टीका लगाइदिँदा प्रीति शाक्य नै कुमारी थिइन्। २०६५ जेठ १५ गते गणतन्त्र नेपालको घोषणा भयो। शाहवंश अन्त्य गरी गणतन्त्र नेपाल घोषणा भएपछि गणतान्त्रिक नेपालका कार्यकारी प्रमुखको हैसियतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पहिलो पटक टीका लगाइदिँदा पनि प्रीति नै कुमारी थिइन्। २०६५ को इन्द्रजात्रा पछि कुमारीबाट निवृत्त भएकाले उनले गणतन्त्र नेपालका पहिलो राष्ट्र प्रमुख राष्ट्रपति रामवरण यादवलाई भने टीका लगाइदिन पाइनन्।

राज्य व्यवस्था परिवर्तनका साक्षी बनेकी कुमारी त्यतिबेला ११ वर्ष पुगेकी थिइन्। त्यतिबेला टीका लगाइदिँदा उनलाई खासै फरक अनुभव भने भएन। अहिले २२ वर्ष पुगेकी पूर्वकुमारी प्रीतिले त्यतिबेलाको इन्द्रजात्रालाई याद गर्दै भनिन्, ‘प्रधानमन्त्री गिरिजाप्रसाद टीका थाप्न आउँदा राजा होइनन् भन्ने चाहिँ थाहा थियो। तर टीका लगाइदिँदा खासै फरक भने अनुभव भएन।’

राज्य व्यवस्था परिवर्तनका साक्षी बनेका कुमारी प्रीति अर्को एउटा आन्दोलनको पनि साक्षी बनेकी थिइन्। यो आन्दोलनमा भने उनले आफ्नो रथ यात्रासमेत पूर्ण गर्न सकिनन्। २०६५ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले इन्द्रजात्राको खर्च कटौती गरेपछि स्थानीय नेवार समुदाय, संस्कृतिप्रेमी आन्दोलनमा होमिए।

यो आन्दोलनले गर्दा रथ जात्राको अन्तिम दिन ‘नानीचा याः’ बेला रथलाई पूरा घुमाउन सकेन। बसन्तपुरबाट तानिएको रथ प्याफल पुग्दा लाखे, पुलुकिसीले नै रथलाई अगाडि बढाउन दिएन। राति १२ बजेसम्म रथ प्याफलमै अडियो। त्यसपछि कुमारीलाई रथबाट निकाली बोकेरै कुमारी घर फर्काइयो। ‘त्यसबेला भने नरामाइलो लाग्यो’ उनले भनिन्, ‘लाखे, पुलुकिसीले रथ तान्न दिएन भन्ने थाहा थियो, अरु के कारणले भन्ने चाहिँ थाहा भएन। त्यति बेला कुमारी घर फर्कंदा किन त्यतिकै फर्किने भनेर सोधेको सम्म याद छ।’

आन्दोलन चर्किदै गएपछि तत्कालीन प्रधानमन्त्री भट्टराईले आफ्नो अडान फिर्ता लिएर आन्दोलनकारीका माग पूरा गरिदिएका थिए। आठ वर्ष कुमारी भएकी प्रीतिलाई कुमारी हुँदा केही दैवीशक्ति हुन्छ भन्ने जस्तो भने लाग्छ। ‘घण्टौंसम्म रथमा बस्दा पनि बाहिर निस्कौं जस्तो लाग्दैन। ट्वाइलेट जाउँ भन्ने सम्म पनि हुँदैन’ उनले कुमारीको शक्तिबारे भनिन्, ‘आठ वर्षसम्म कुमारी घरमा बस्दा पनि कहिले पनि यताउता जाउँ भने जस्तो भएन। कुमारी घरमै रमाएँ, त्यहीँ पढें, त्यहीँ हुर्कें। कहिले पनि बाहिर जाउँ जस्तो भएन।’

राज्य व्यवस्था परिवर्तन र आन्दोलनका साक्षी बनेकी प्रीतिलाई अहिले राजनीतिमा खासै चासो छैन। अहिले भने उनी घुमिरहेकी हुन्छिन्। स्कुटर कुदाउँछिन्। उनी अहिले प्राइम कलेजमा बीबीएस चौथो वर्षमा पढ्दैछिन्। उनलाई बोल्न र फोटो खिचाउन एकदमै रहर लाग्छ।

‘म त ‘एस्ट्रा वर्ड’ नै हुँ, बोलिरहन मन लाग्छ। त्यसैले साथीहरू धेरै छन्। कुमारीबाट निवृत्त भएपछि केहीदिन मात्र न्यास्रो लाग्यो, तर मेरो बोल्ने बानीले तुरुन्तै सबैसँग घुलमिल गरायो,’उनले भनिन्। कुमारी हुँदा सबैले मान्दै आएका, पूजा गर्दै आएका प्रीतिलाई पूर्वकुमारी भएपछि पनि सबैले सम्मान गर्दै आएका छन्। ‘स्कुल, कलेजमा शिक्षक शिक्षिकादेखि साथीहरू सबैले सम्मान गर्छन्। मलाई कुमारी भएकोमा गर्व लाग्छ,’उनले भनिन्।

आफ्नो फोटो खिचाउन नि त्यतिकै रहर लाग्ने उनलाई फिल्म वा मोडलिङमा भने त्यति रूची छैन। ‘मेरो लक्ष्य त व्यवसाय गर्ने हो। तर भविष्यमा के हुन्छ भन्न सक्दिँन। अहिले त मेरो पूरा ध्यान पढाइमै छ। पहिला ब्याचलर सक्याऔं, त्यसपछि बिचार गरौंला,’ उनले भनिन्।

व्यवसायमा रूची राख्ने पूर्वकुमारी प्रीतिका बुबा–हजुरबुबा भने नेपालकै प्रख्यात कलाकारहरू हुन्। उनका हजुरबुबा सिद्धिमुनि शाक्य नेपालकै पहिलो नोटका डिजाइनर हुन्। वि.सं. २००२ सालमा उनकै डिजाइनमा ५, १० र १०० का नोट निष्काशन भएका थिए। साथै उनी प्रख्यात पौभाः चित्रकार पनि हुन्।

आफ्ना बुबाको पाइला पछ्याउँदै प्रीतिका बुबा सुरेन्द्रमान शाक्य पनि पौभाः कोर्न मै लागे। उनी पनि अहिले पौभाःका व्यस्त र प्रख्यात चित्रकार हुन्। प्रीतिकी ठूली दिदी प्रियाले पनि बाजे–बुबाको नै पाइला पछ्याइरहेकी छिन्। तर प्रीतिलाई भने चित्रकारीमा रूची छैन। ‘पौभाः कोर्न मनैदेखि कोर्छु भन्ने हुनुपर्छ। कसैको दबाबमा पौभाः बनाउन सकिँदैन’ प्रीतिका बुबा सुरेन्द्रमानले भने।

प्रीति पूर्वकुमारी भएको अहिले ११ वर्ष पूरा भइसकेको छ। तर उनी अहिले पनि कुमारी घर आउजाउ गर्छिन्। प्रीतिमात्र हैन पूर्वकुमारीहरू सबै कुमारीघर आउजाउ गर्छन्। कुमारीघर पूर्वकुमारीहरूको माइती जस्तै हुन्छ। कुमारीघरबाट हरेक चाडपर्वमा पूर्वकुमारीहरूलाई ‘नखत्या’ (भोज) बोलाउनु पर्छ। अहिले इन्द्रजात्रामा प्रीतिलाई बीबीएस चौथो वर्षको परीक्षाको चटारो छ, तर पनि उनी समय मिलाएर कुमारीघर गइरहेकी छिन्।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares