कहिले पुग्दैन पैसा,मान्छेलाई जीवनमा कति पैसा चाहिन्छ ?

धन (मूलतः पैसा) की देवी लक्ष्मी पुजिने पर्व तिहारको तयारीमा काठमाडौँको असन बजार सजिइसकेको थियाे। मसला, फूलमाला, मिठाईका पसल भरिभराउ भइसकेका छन्। विगत पाँच वर्षदेखि असनमा भारी बोक्ने काम गर्छन्, मकवानपुर, फापरबारीका चन्द्रमान वाइबा। सोमबार दिउसो उनी काँधमा नाम्लो भिरेर असनचोकको एउटा पसलको सिँढीमा बसिरहेका थिए। उनलाई सोधियो– ‘तपाईंलाई कति भए पुग्छ पैसालेरु’

‘मलाई त अहिले १ सय ६० रुपैयाँ भए पुग्छ,’ उनले भने, ‘भात खाएको छैन। कसैले १ सय ६० रुपैयाँ दिए कुखुराको मासु र भात खान्थेँ। हामी गरिबलाई भन्दा यस्तो प्रश्न त धनीलाई सोध्नुपर्छ। गरिबलाई त अलिकति पैसा भए पुगिहाल्छ नि। धनीलाई पो जति भए पनि पुग्दैन।’देशकै सम्पन्न व्यावसायिक प्रतिष्ठान गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छालाई पनि सोधियो, उही प्रश्न– ‘तपाईंलाई कति भए पुग्छ पैसालेरु’

उनले ठ्याक्कै यतिउति भन्ने जवाफ दिएनन्। तर, धेरै पैसा भएको दिन आफूलाई रातभरि निन्द्रा नलाग्ने बताए। ‘मलाई धेरै पैसा भएपछि रातभरि निन्द्रा लाग्दैन,’ गोल्छाले भने, ‘पैसाले संसारको सबैभन्दा महँगो बिछ्यौना किन्न सकिएला, तर मिठो निन्द्रा किन्न नसकिने रहेछ।’ उनले पैसाको सामथ्र्यको पनि सीमा हुने बताए।‘अन्नपूर्ण सम्पूर्ण’ले तिहार नजिकिँदै गर्दा धनाढ्य व्यवसायी(उद्योगपतिदेखि मजदुरसम्मलाई एउटै प्रश्न गरेको थियो– ‘मान्छेलाई कति भए पुग्छ पैसाले’ स्वाभाविक रूपमा सबैका जवाफ भिन्न–भिन्न थिए।ज्याला मजदुरी गर्नेहरू हजारको चाहना राख्छन्। जागिरेहरू लाखको सपना देख्छन्। व्यापारी र उद्यमीहरूसँग करोडभन्दा मुनिको चाहना र योजना हुँदैन।

‘कति पैसा भए मानिस खुशी हुन्छरु’ भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न नसकिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन्। ‘‘मानिसलाई कति पैसा भए पुग्छ’ भन्ने कुरा कसैले पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन,’ उनी भन्छन्, ‘पैसा मानिसलाई यति नै चाहिन्छ भन्ने छैन। तर, आवश्यकताभन्दा बढी पैसा थुपार्दा मानिसलाई थप तनाव र बोझ हुन्छ।’

इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आईएमएस)का अध्यक्ष दीपक मलहोत्रालाई पनि यति नै पैसाले पुग्छ भन्ने लाग्दैन। ‘पैसा जति कमायो उति कमाइरहने इच्छा हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले हामी व्यवसायीले कमाएको पैसा कहिले पनि बैँकमा जम्मा गर्दैनाँै। एक ठाउँबाट गरेको आम्दानी अर्को क्षेत्रमा लगानी गर्छौं।’

नवनिर्वाचित एनआरएनए अध्यक्ष कुमार पन्त आज आफूसँग भएको पैसा भोलि आफूसँग हुन नसक्ने बताउँछन्। ‘आजको दिनमा मानिसलाई पाइला–पाइलामा पैसा चाहिन्छ,’ उनी भन्छन्, ‘तर, पैसा मात्रै सबथोक भने होइन। पैसा आज छ, भोलि नहुन पनि सक्छ। पैसाले सबै थोक किन्न सकिएला, तर खुशी किन्न सकिँदैन।’

‘पैसाले कहिल्यै पुग्दैन’

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार सेयर बजारमा प्रवेश गर्नुअघि गार्मेन्ट उद्योगमा सक्रिय थिए। ३५ वर्षसम्म दैनिक १२ देखि १४ घण्टासम्म उनी काममा बिताउँथे। ‘मसँगै मेरी श्रीमती पनि काममा एकदमै व्यस्त थिइन्,’ उनी सम्झन्छन्, ‘हामी दुई यति व्यस्त हुन्थ्यौँ कि जीवन के हो भन्ने भुलिसकेका थियौँ।’ व्यापारिक मन्दीका कारण रौनियारको गार्मेन्ट उद्योग बन्द भयो। त्यसपछि उनले सेयर बजारमा प्रवेश गरे। सेयर बजारमा उनले १० वर्ष बिताइसके। ‘विगत दुई वर्षदेखि बिस्तारै कामको चाप घटाउँदै लगिरहेको छु,’ उनी भन्छन्, ‘अहिले म भौतिकभन्दा प्राकृतिक र पारिवारिक जीवनमा धेरै ध्यान दिइरहेको छु। ६१ वर्षको उमेरमा आएर स्तरीय जीवन बिताउँदै छु भन्ने लाग्दै छ।’ एक दिन सबैले भौतिक जीवन छाड्नुपर्छ भन्ने लाग्छ उनलाई। ‘एक दिन सबैले भौतिक जीवन छाड्नुपर्छ,’ उनी भन्छन्, ‘भौतिक जीवन छाडेर असल जीवन बाँच्नुपर्छ।’ पैसाको सही प्रयोग गर्न नजानेर धेरैको घरपरिवार तहसनहस भएको उनले देखेका छन्। ‘मानिस हरेक दिन पैसा कमाउन दौडिरहेका छन्,’ उनी भन्छन्, ‘पैसा कमाउने धुनमा आफ्नो जीवन बाँच्न भुल्छन्।’

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल आजको युगमा पैसा जीवनको अभिन्न अंग भएको बताउँछन्। ‘आफूलाई चाहिएको सामान किन्न र सेवा लिन पैसा अपरिहार्य छ,’ उनी भन्छन्, ‘तर, जहाँ पैसाको आवश्यकता बढी हुन्छ, त्यहाँ थोरै रकमका लागि पनि मानिसले अपराध गरिरहेका हुन्छन्।’ मानिसहरू पैसाको लागि मरिमेट्ने र अपराधसम्म गर्न पछि नहट्ने भएकाले राज्यले कडा कानुन बनाउनुपरेको उनको बुझाइ छ।

धन प्राप्तिका लागि व्यापार नै सही माध्यम हुने अग्रवालको अनुभव छ। ‘हाम्रो पुरातन शास्त्रले भनेको छ, व्यापारमा लक्ष्मीको बास हुन्छ,’ उनी भन्छन्, ‘इतिहास पल्टाएर हेर्ने हो भने पनि व्यापार गर्ने नै सफल छन्। दुई रुपैयाँमा सामान किनेर अढाई रुपैयाँ बेच्दा पक्कै कमाइ राम्रै हुन्छ।’

मान्छेहरू सन्तुष्ट हुनु देशको अर्थतन्त्रका लागि घातक ठान्छन्, उपाध्यक्ष अग्रवाल। ‘पैसाले मानिसलाई कहिल्यै पुग्दैन,’ उनी भन्छन्, ‘हामी उद्योगी र व्यवसायी पनि एउटा उद्योगमा सन्तुष्ट नभएर धेरैभन्दा धेरै उद्योग र व्यवसाय गर्न चाहन्छौं। मानिसहरू बुढेसकालमा पनि पैसा कमाउन काम गरिरहेका हुन्छन्। धनीहरूको सूची निकाल्ने ‘फोब्र्स’ पत्रिकामा आफ्नो नाम लेखाउन अर्बपतिहरू दिनरात मेहनत गरिरहेका हुन्छन्। त्यसैले मानिसलाई पैसाले कहिल्यै पुग्दैन।’
‘पैसा सबथोक होइन’
ज्योति ग्रुपका उपाध्यक्ष रूपज्योति पैसालाई सबथोक ठान्दैनन्। आजको दिनमा जसले जति पैसा कमाए पनि त्यसको कारण समाज भएको उनी बताउँछन्। ‘हरेक मानिसले कमाइ गर्ने थलो भनेको समाज हो,’ उनी भन्छन्, ‘त्यसैले कमाएको पैसा सामाजिक कार्यमा लगाउन सकेमा मात्रै मानिसलाई पैसाले सन्तुष्टि मिल्छ। नत्र कमाएको पैसाले मानिसलाई राम्रोसँग निद्रा पनि लाग्दैन।’ सामाजिक कार्य र पैसा एकअर्काका परिपूरक लाग्छन्, रूपज्योतिलाई।

पैसालाई सही ठाउँमा सदुपयोग गरियो भने त्यसले फलिफाप गर्ने उनी बताउँछन्। ‘त्यसका लागि आफूले कमाएको धनको स्रोत खराब हुनु हुँदैन,’ उनी भन्छन्, ‘नराम्रो कामको परिणाम नराम्रै हुन्छ। त्यसैले असल काम गरेर कमाएको धनले मात्रै मानिसलाई सुखी बनाउँछ।’

एमएस ग्रुपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल पैसाबिनाको जीवन अकल्पनीय हुने बताउँछन्। जागिरभन्दा व्यवसाय गर्नेले धेरै पैसा कमाउने उनको भनाइ छ। त्यसका लागि लगानी चाहिने उनी बताउँछन्। ‘व्यापारका लागि लगानी गरेर जोखिम मोल्न तयार हुनुपर्छ,’ उनी भन्छन्, ‘जागिर खानेहरूको तलब उनीहरूको चाहनाअनुसार हुँदैन। उनीहरूले आम्दानी चाहेर पनि वृद्धि गर्न सक्दैनन्।’ व्यवसायका लागि आँटसँगै सु–व्यवस्थित योजना पनि हुनुपर्ने उनी बताउँछन्। ‘संसारमा सबैभन्दा बढी सफल हुने पेशा व्यवसाय हो,’ उनी भन्छन्, ‘व्यवसाय गर्ने व्यक्ति थोरै मात्र असफल हुन्छन्। त्यसैले यो सबैभन्दा धेरै सफलता पाइने क्षेत्र हो।’

रिलायन्स स्पिनिङ मिल्सका अध्यक्ष पवन गोल्यान पैसा कमाउनका लागि व्यापारमा लगानी मात्रै भएर नहुने बताउँछन्। त्यसका लागि मेहनत र धैर्य चाहिने उनको भनाइ छ। उनी पैसालाई जीविका चलाउने साधन मात्र मान्छन्। ‘यसको मात्रा बढ्दै गएपछि निन्द्रा कम हुँदै जान्छ,’ उनी भन्छन्, ‘तनाव बढ्दै जान्छ। खानेकुराको मात्रा घट्दै जान्छ। त्यसैले धेरै पैसा धेरै दुःखको कारण पनि हो।’ धन धेरै जम्मा पार्ने दौडमा थुप्रिने दुःखबारे सबैले ध्यान दिनुपर्ने उनी बताउँछन्।
‘पैसा केबल कागजको टुक्रा हो’
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्ण दुलालका लागि पैसा केबल काजगको टुक्रा हो। ‘पैसाबाट आवश्यकता पूरा गर्न सकिएला, तर असल जीवन जिउन खासै धेरै पैसा कमाउनुपर्दैन,’ उनी भन्छन्, ‘पैसा के हो ररु केबल कागजको टुक्रा हो। नियमित कर्तव्य गर्दै जाँदा पैसा कमाइन्छ। कसैले धेरै कमाउँछन् भने कसैले थोरै। तर, पैसाको महत्त्व छैन भनेर कामै नगरी भने बस्नु हुँदैन।’

पैसाले मानिसलाई कहिल्यै नपुग्ने उनको धारणा छ। ‘पैसाले भौतिक युगमा जे पनि खरिद गर्न सकिन्छ,’ उनी भन्छन्, ‘मेहनत गर्‍यो भने जति पनि पैसा कमाउन सकिन्छ। पैसाको पछि दौडिँदा क्षणिक सुख मिल्छ। आत्मसन्तुष्टि मिल्दैन।’

व्यवसाय गर्ने व्यक्तिको आम्दानी निश्चित नहुने उनी बताउँछन्। ‘घाटा र नाफा व्यावसायिक चक्र हो,’ उनी भन्छन्, ‘यो चक्रसँग जुध्न सक्ने इच्छाशक्ति र क्षमता भएकाले राम्रो आम्दानी गर्छन्। व्यवसायीले कमाएको पैसा अर्को व्यवसायमा लगानी गर्ने हो।’ व्यवसायीले उद्योग खोल्दा त्यहाँ एउटाले मात्र आम्दानी नगर्ने उनी बताउँछन्। ‘त्यही व्यवसायबाट धेरैको घरपरिवार र जीवन चलेको हुन्छ,’ उनी भन्छन्, ‘आवश्यकताको आधारमा पैसा कमाउन सक्नेले स्तरीय जीवन जिउन सक्छन्। पैसा हुनेले नै समाज सेवा, घुमफिर र स्वस्थ जीवन बिताउन सक्छन्।’
‘पैसाले कसैलाई पुग्दैन’
आईएमएसका अध्यक्ष मलहोत्रा आफ्नै बलबुतामा यहाँसम्म आइपुगेको बताउँछन्। ‘मैले मेरो व्यवसायमा परिवारबाट कुनै आर्थिक सहायता लिएको छैन,’ उनी भन्छन्, ‘४० वर्षअघि व्यापार सुरु गर्दा १५ लाख रुपैयाँ भए पुग्छ भन्ने मनमा लागेको थियो। अहिले करोडौँ कमाउँदा पनि पुगेको छैन।’ मानिसको इच्छा असीमित हुने उनी बताउँछन्। ‘मानिसलाई यति पैसा भए पुग्छ भन्ने हुँदैन,’ उनी भन्छन्, ‘तर, मानिसलाई सन्तुष्ट हुन धेरै पैसा चाहिँदैन। युरोप, अमेरिका र विकसित मुलुकमा मानिसले पैसा कमाएर बचत गर्दैनन्। त्यहाँ सरकारले दिने सामाजिक सुरक्षाका कारण मानिसले बचतमा धेरै ध्यान दिँदैनन्।’ नेपालमा सामाजिक सुरक्षा राम्रो नभएकाले बिरामी हुँदा, बच्चा पढाउन र उनीहरूको भविष्य सुरक्षित गर्न पैसा कमाउनुपर्ने उनी बताउँछन्। ‘यसका लागि कति पैसा चाहिन्छ भन्ने सीमा छैन,’ उनी भन्छन्, ‘कम आय हुने सरकारी अस्पतालमा उपचार गराउँछन्। धेरै पैसा हुने विदेशमा गएर उपचार गराउँछन्।’

आरपी ग्रुपका प्रबन्ध निर्देशक रूपेश पाण्डेय पनि पैसाले मानिसलाई कहिल्यै नपुग्ने बताउँछन्। ‘जति कमाए पनि कमाइरहन मन लाग्छ,’ उनी भन्छन्, ‘पैसालाई हामीले इज्जत गरेर त्यसको महत्त्व बुझ्यौँ भने समाजमा र जीवनमा सुख–शान्ति हुन्छ।’ पैसा धेरै भएपछि मानिसहरू मात्तिने र गलत काम गर्ने उनी बताउँछन्। ‘पैसा भएपछि जे पनि गर्न सक्छु भन्ने मानिसलाई घमण्ड हुन्छ,’ पाण्डेय भन्छन्, ‘पैसा भन्ने कुरा आज मसँग छ भने भोलि अर्कोसँग हुन सक्छ।’

व्यवसायी हरि दाहाल पैसाभन्दा मानिस सन्तुष्टिले खुशी हुने बताउँछन्। ‘कर्म गर्‍यो भने आफूले चाहेको जति पैसा कमाउन सकिन्छ,’ उनी भन्छन्, ‘मानिस असन्तोषी प्राणी हो। पैसाले मानिसलाई खुशीभन्दा बढी तनाव दिने भएकाले आवश्यकताभन्दा बढी पैसा नभएकै बेस १’

महिला उद्यमी रोशनी उपाध्याय पैसालाई आवश्यकता परिपूर्ति गर्ने माध्यम मात्र ठान्छिन्। ‘मानिसलाई दैनिक खर्च चलाएर सामान्य जीवनयापन गर्न पुग्ने पैसा भयो भने पुग्छ,’ उनी भन्छिन्, ‘बैँक ब्यालेन्स बढाएर, सम्पत्ति जोडेर मात्रै केही हुँदैन। महत्त्वाकांक्षा जति बढ्दै जान्छ, खर्च पनि उति नै बढ्दै जान्छ, अनि पैसा कमाउने चाहना पनि बढ्दै जान्छ।’

सौन्दर्य प्रतियोगिता आयोजक हेमा मानन्धरलाई १५(२० करोड रुपैयाँ भए जीवन आरामले चल्छ भन्ने लाग्छ। ‘त्यति पैसा भए जीवन आनन्दले चल्थ्यो,’ उनी भन्छिन्, ‘त्यो पैसालाई म समाजसेवामा पनि लगाउने थिएँ।’

पैसाले मुकेश अम्बानीदेखि विनोद चौधरी कसैलाई पनि नपुग्ने उनी बताउँछिन्। ‘यो संसारमा पैसाले कसैलाई पनि पुग्दैन,’ उनी भन्छिन्, ‘मनमा पैसाको लक्ष्मीले भन्दा सन्तोषको लक्ष्मीले बास गर्नुपर्छ। मानिसहरू पैसामा प्रेम देख्छन्। तर, प्रेमको पूर्ति पैसाले गर्न सक्दैन। पैसाले प्रेम कहिल्यै किन्न सक्दैन।’
‘खर्च गर्नुअघि कमाउनुपर्छ’
व्यवसायी तेञ्जिङ शेर्पा पैसा मानिसको जीवनमा नभई नहुने चिज भए पनि त्यसका लागि आफ्नो आत्मसम्मान भने गुमाउन नहुने बताउँछन्। ‘पैसाकै लागि मानिसले जे पनि गर्नु हुँदैन,’ उनी भन्छन्। शेर्पाका लागि पैसा दोस्रो स्थानमा पर्छ। पहिलो नम्बरमा उनी कर्मलाई स्थान दिन्छन्। ‘कर्म गर्‍यो भने पैसा आफँै आउँछ,’ उनी भन्छन्, ‘हरेक मानिसको आफ्नै जीवनशैली हुन्छ। जीवनशैलीअनुसार पैसाको आवश्यकता फरक–फरक हुन्छ।’ आफू कस्तो जीवन बिताउने भन्ने कुरा कमाइले निर्धारण गर्ने उनी बताउँछन्। ‘समाजमा सामाजिक, सांस्कृतिक र आर्थिक थुप्रै नियम हुन्छन्,’ उनी भन्छन्, ‘खर्च गर्नुभन्दा पहिले कमाउनुपर्छ। त्यो आर्थिक नियमभित्र पर्छ। आर्थिक नियममा बसियो भने हामीलाई पैसाको दुःख हुँदैन। त्यसका लागि कमाउने र खर्च गर्ने शैलीमा सन्तुलन हुनुपर्छ।’

ब्युटिसियन सुषमा महरा पैसा जति कमाए पनि नपुग्ने बताउँछिन्। ‘पैसा जति कमाए पनि नपुग्ने भएकाले पैसाको पछाडि मानिस कुदिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ क्षमता हुँदाहुँदै पनि भनेको जस्तो पैसा कमाउन सकिँदैन। तर, कमाएको पैसाको केही भाग जोगाउनुपर्छ। बचत पनि कमाइ हो।’ कमाएको केही पैसा जोगायो भने मानिसलार्ई पैसाको कहिल्यै दुःख नहुने उनी बताउँछिन्। ‘आम्दानीभन्दा बचत ठूलो फाइदा हो,’ उनी भन्छिन्, ‘त्यसको मतलब मन लागेको चिज नखाएर(नलाएर जोगाउने भनेको होइन।’

व्यवसायी हेमन्त निरौला पैसा मानिसको जीवनमा एकदमै आवश्यक रहेको बताउँछन्। ‘पैसाबिना केही पनि हुँदैन,’ उनी भन्छन्, ‘मानिसका आवश्यकता समयसँगै बढिरहन्छन्। त्यसैले पैसा जति भए पनि पुग्दैन। पाँच हजार कमाउनलेलाई १० हजार कमाउन पाए हुन्थ्यो भन्ने लाग्छ। पाँच लाख कमाउनेलाई १० लाख कमाउन पाए हुन्थ्यो जस्तो हुन्छ।’ पैसाले सामान्य मानिसलाई मात्र होइन, उद्यमी र व्यापारीलाई पनि नपुग्ने उनी बताउँछन्। ‘पाँच लाखबाट सुरु गरेको व्यापार ५० लाख पुग्दा पनि मानिसलाई पैसाले पुगेको हुँदैन,’ उनी भन्छन्, ‘पैसाको जातै यस्तो हुन्छ।’
सेलिब्रिटीलाई कति भए पुग्छरु
अभिनेत्री झरना थापालाई लाग्छ– ‘सेलिब्रिटीको जीवन जिउन महिनामा एक(दुई लाख रुपैयाँ अनिवार्य चाहिन्छ।’ मानिसको चाहना एकपछि अर्को थपिँदै जाने हुनाले पैसा जति भए पनि नपुग्ने उनी बताउँछिन्। ‘मानिसको चाहना असीमित हुने भएकाले पैसा जति कमाए पनि पुग्दैन,’ उनी भन्छिन्, ‘एकसरो लुगा र बिहान–बेलुका दुई छाक खान पुग्ने पैसा भए जसलाई पनि पुग्छ।

अभिनेत्री प्रियंका एमभीलाई पनि महिनामा एक(दुई लाख रुपैयाँ भए पुग्छ। ‘मानिसलाई कति बेला के आवश्यक पर्छ भन्ने थाहा हुन्न,’ उनी भन्छिन्, ‘महिनामा एक(दुई लाख कमाइयो भने आफ्ना सारा सपना पूरा हुन्थ्यो होला जस्तो लाग्छ।’

अभिनेता कबिर खड्काको विश्व भ्रमण गर्ने सपना छ। त्यसका लागि एक अर्ब रुपैयाँ भए आफ्नो सपना पूरा हुने उनी बताउँछन्।

निर्देशक दीपाश्री निरौला बाँच्नका लागि पैसा धेरै नचाहिने बताउँछिन्। ‘पैसा भन्दा पनि मनमा सन्तुष्टि भए पुग्छ,’ उनी भन्छिन्, ‘धेरै पैसाले मानिस धेरै खुशी हुने होइन। सन्तुष्टि सबैको साथ, माया र स–सानो खुशीमा मिल्छ। त्यसैले मलाई यति नै पैसा चाहिन्छ भन्ने छैन।’अभिनेता विल्सनविक्रम राई भन्छन्, ‘मलाई हजारको हजार वटा नोट भए पुग्छ। मसँग यति पैसा भयो भने सित्तैमा फिल्म खेलेर सबैलाई हँसाउँथेँ।’

अभिनेता कृष्ण मल्ल अहिलेको अवस्था हेरेर महिनाको डेढ लाख रुपैयाँ भयो भने पुग्ने बताउँछन्। ‘त्यति पैसा भयो भने म आफू र आफ्नो परिवारको इच्छा र आवश्यकता पूरा गर्न सक्थेँँ,’ उनी भन्छन्, ‘महिनैपिच्छे घरमा डेढ लाख भित्रिने भए जीवन टेन्सनफ्री हुन्थ्यो होला।’

निर्देशक दीपेन्द्र के खनाल जिन्दगी बिताउन ३०(४० करोड रुपैयाँ भए पुग्ने बताउँछन्। ‘त्यो पैसाले विश्व भ्रमण गर्थें,’ उनी भन्छन्, ‘सबै टेन्सनबाट मुक्त भएर आरामको जिन्दगी बिताउँथेँ। कतै लगानी गर्थें। दुःखमा परेकालाई सहयोग गर्थें।’

अर्का निर्देशक आकाश अधिकारीलाई बाँचुञ्जेल वर्षको २४ लाख रुपैयाँ भए पुग्छ। ‘म जति समयसम्म बाँच्छु, त्यतिञ्जेलसम्म वर्षको २४ लाख रुपैयाँ भए पुग्छ,’ उनी भन्छन्, ‘त्यो पैसा हातमा पर्नेबित्तिकै बैँकमा राख्थेँ। त्यही बैँकको ब्याजले जिन्दगी चलाउँथेँ।’

अभिनेता दयाहाङ राईलाई जिन्दगीमा यति नै पैसा चाहिन्छ भन्ने छैन। ‘मैले जीवनमा यति नै पैसा चाहिन्छ भनेर हिसाब गरेको छैन,’ उनी भन्छन्, ‘पैसाकै लागि मेहनत गरिन्छ, तर त्यसकै लागि भनेर मरिहत्ते गरिँदैन। पैसो मात्रैले खुशी र सुखी हुन सकिँदैन। आफू र आफ्नो परिवालाई खुशी हुन जति पैसा चाहिन्छ, त्योभन्दा बढी काम छैन।’

अभिनेता गौरव पहारीलाई भने २० करोड रुपैयाँ भए जीवन आरामले चल्छ भन्ने लाग्छ। ‘अहिलेको अवस्थालाई हेर्ने हो भने २० करोड रुपैयाँ भए पुग्छ,’ उनी भन्छन्, ‘त्यो पैसाले म आफ्नो रेस्टुरेन्ट व्यवसाय बढाउँथेँ। फिल्म क्षेत्रमा लगानी गर्थें।’

ट्रान्सजेन्डर मोडल भूमिका श्रेष्ठ अहिलेको जमानामा पैसाबिना केही पनि नहुने बताउँछिन्। ‘अहिलेको समयमा पैसाबिना केही हुँदैन,’ उनी भन्छिन्, ‘तर, पैसा मानिसको जीवनमा समस्या होइन, समाधान बनेर आउनुपर्छ।’ उनी आफूलाई महिनाको २० हजार रुपैयाँ भए पुग्ने बताउँछिन्। ‘महिनाको २० हजार भए आरामले जीवन चल्छ,’ उनी भन्छिन्, ‘मानिसहरू चार–पाँच हजारमा पनि महिना चलाइरहेका हुन्छन्। मेरो घर, गाडी जोड्ने सपना नभएकाले मलाई मासिक २० हजार भए पुग्छ।’

हास्य कलाकार मधुसुदन पाठक आवश्यकताभन्दा बढी पैसा जरुरी नभएको बताउँछन्। समय फरक भएकाले पैसाको आवश्यकता पनि फरक हुँदै गइरहेको छ भन्ने लाग्छ, उनलाई। ‘हाम्रा चाडपर्वहरू पनि खर्चिलो बन्दै गइरहेका छन्,’ उनी भन्छन्, ‘हामी दिन प्रतिदिन परनिर्भर हुँदै गइरहेका छौँ। अरूले उत्पादन गरेको सामान महँगो हुन्छ। महँगी बढ्दा पैसाको आवश्यकता पनि बढ्छ। त्यसैले पैसा जति भए पनि पुग्दैन।’
आम मान्छेलाई करोड भए पुग्छ
काठमाडौँ, बूढानीलकण्ठका २३ वर्षीय विद्यार्थी सरोज रम्तेललाई एक करोड पैसा भए जीवनभरिलाई पुग्थ्यो भन्ने लाग्छ। ‘हुन त पैसाले जति भए पनि पुग्दैन,’ उनी भन्छन्, ‘अहिलेका लागि मलाई एक करोड भए जिन्दगीभरका लागि पुग्थ्यो। त्यो पैसा म केही बैँकमा राख्थेँ, बाँकी गरिबलाई सहयोग गर्थें।’

काठमाडौँ, मूलपानीकी रस्मी पौडेललाई पनि एक करोड भए जीवन चल्छ भन्ने लाग्छ। ‘एक करोडमा म ५० लाख सहकारीमा लगेर राख्थेँ,’ उनी भन्छिन्, ‘त्यसैको ब्याजले खाने(लगाउने खर्च पुर्‍याउँथेँ। बाँकी ५० लाखले आफ्ना अरू आवश्यकता पूरा गर्थें।’

काठमाडौँ, मूलपानीकी शिक्षिका कुन्दा पौडेल ९५०० लाई पनि एक करोड भए पुग्छ। ‘मलाई एक करोड भए बाँचुञ्जेल पुग्थ्यो,’ उनी भन्छिन्, ‘त्यो एक करोडले छोराछोरी पढाउँथेँ, घर व्यवहार चलाउँथेँ, बचत गर्थें र एउटा सानो व्यापार पनि गर्थें।’

काठमाडौँ, कपनकी शिक्षिका रीना बस्नेतलाई पनि एक करोड भए पुग्छ। ‘मलाई एक करोड भए पुग्थ्यो,’ उनी भन्छिन्, ‘एक करोडमा म आधा पैसा आफ्नो लागि युज गर्थें। केही पैसा बचत गर्थें। बाँकी पैसा आमाबुबालाई कार किनेर उपहार दिन्थेँ।’

काठमाडौँ, वसन्तपुरमा किराना पसल गरेर बस्छन्, सुरेन्द राई ९५२०। उनलाई पनि जीवनमा एक करोड रुपैयाँ भए पुग्छ। ‘मलाई एक करोड रुपैयाँ भए पुग्छ,’ उनी भन्छन्, ‘त्यो पैसाले काठमाडौँमा एउटा घर किन्थेँ। छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउँथेँ। एउटा सानोतिनो व्यापार गर्थें।’
अधिकांशको सपनाः घर र गाडी
काठमाडौँ, बानेश्वर बस्ने पवित्रा कटुवाल ९२१० लाई जीवनमा आठ करोड भए पुग्छ। ‘त्यति पैसा भयो भने म काम नगरी बसी–बसी खान्थेँ,’ उनी भन्छिन्, ‘आफूलाई मन परेको ठाउँ घुम्न जान्थेँ। मन लागेको कुरा किन्थेँ। एउटा घर बनाउँथेँ। एउटा दामी कार किन्थेँ।’काठमाडौँ, सुन्ताखान बस्ने दीपेश कुँइकेल ९२२० लाई जिन्दगी आरामले कटाउन १० करोड रुपैयाँ भए पुग्छ। ‘यो पैसाले म एउटा दामी घर किन्थेँ,’ उनी भन्छन्, ‘घरमा एउटा शानदार गाडी भित्त्याउँथेँ।’काठमाडौँ, बालाजु बस्ने सोनु थापा ९२०० को पनि १० करोडकै सपना छ। ‘१० करोडमा केही पैसाले देश–विदेश घुम्थेँ, काठमाडौँमा ठूलो घर बनाउथेँ। राम्रो गाडी चढ्थेँ।’

काठमाडौँ, बानेश्वर बस्ने इच्छा कँडेललाई पनि १० करोड भए जिन्दगी मज्जाले चल्छ भन्ने लाग्छ। ‘पैसा हातमा पर्नेबित्तिकै काठमाडौँमा एउटा घर बनाउँथे,’ उनी भन्छिन्, ‘तुरुन्तै ड्राइभिङ सिकेर एउटा कार पनि किनेर त्यही कारमा सरर शहर घुम्थेँ।’काठमाडाँै, कीर्तिपुर बस्ने पल्लवी घिमिरेको १५ करोड रुपैयाँको सपना छ। ‘मलाई अहिलेको परिस्थितिमा हातमा १५ करोड रुपैयाँ भए पुग्छ,’ उनी भन्छिन्, ‘त्यसले एउटा खत्रा बङ्लो बनाउँथेँ र युरोप टुर जान्थेँ।’

काठमाडौँ, स्वयम्भूका सन्तोष दलामी ९२३० लाई खुशी हुन पाँच करोड रुपैयाँ भए पुग्छ। ‘म त्यो पैसाले काठमाडौँमा ठुलो घर बनाउँथेँ,’ उनी भन्छन्, ‘एउटा दामी गाडी किन्थेँ। सेयर बजारमा पैसा लगानी गर्थें। सानोतिनो व्यापार गर्थें।’

भक्तपुर, कौशलटारका सहिरस श्रेष्ठ ९२२० को पनि सुन्दर घर र चिटिक्क परेको गाडीको सपना छ। ‘१५ करोड रुपैयाँ भए मलाई घर र गाडी किन्न पुग्थ्यो,’ उनी भन्छन्, ‘१० करोड रुपैयाँमा काठमाडौँमा जति वटा घर आउँछ, सबै किन्थेँ। ती सबै घर भाडामा लगाएर सुती–सुती खान्थेँ।’

काठमाडौँ, पेप्सीकोलाका दीपेश धामी ९२३० लाई नौ करोड रुपैयाँको चाहना छ। त्यो नौ करोडले उनको पनि घर र गाडी किन्ने सपना छ। ‘त्यसमा आधा पैसा कुनै व्यवसायमा लगानी गर्थें,’ उनी भन्छन्, ‘केही रकम बैँकमा राख्थेँ। काठमाडौँमा एउटा घर किन्थेँ। राम्रो गाडी चढ्थेँ।’

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares